Nidan Media

पक्राउविरुद्ध ओली र लेखकको आपत्ति, ‘प्रतिशोधपूर्ण’ भन्दै कानूनी लडाइँ लड्ने चेतावनी

काठमाडौँ । जेन-जी आन्दोलन दमन प्रकरणमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो गिरफ्तारीलाई प्रतिशोधपूर्ण भन्दै आपत्ति जनाएका छन्।

दुवै नेताले आफ्नो गिरफ्तारीविरुद्ध कानूनी प्रक्रिया अघि बढाउने बताएका हुन्।

शनिबार बिहान प्रहरीले पक्राउ गरेपछि ओलीले उक्त कदम राजनीतिक प्रतिशोधबाट प्रेरित भएको बताएका छन्।

पक्राउ पुर्जी लिएर प्रहरी पुगेपछि उनले आफ्ना कानून व्यवसायीहरूसँग परामर्श गर्दै “यो पक्राउ प्रतिशोधपूर्ण छ, यसको कानूनी लडाइँ लड्छु” भन्दै तयारी गर्न निर्देशन दिएका थिए।

उनले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग छलफल गरेका थिए।

ओली पक्षका वरिष्ठ अधिवक्ता भट्टराईले समेत उक्त गिरफ्तारी गैरकानूनी रहेको दाबी गरेका छन्। “यो पक्राउको कानूनी आधार छैन, प्रथम दृष्टिमै गलत छ,” उनले बताएका छन्।

यता, लेखकले पनि आफूलाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाएका छन्।

भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ परेपछि उनले “राजनीतिक र कानूनी लडाइँ लड्न तयार छु” भन्दै प्रतिक्रिया दिएका छन्।

लेखकले मन्त्रिपरिषद्को निर्णयका आधारमा पक्राउ गरिएकोप्रति आपत्ति जनाउँदै यस्तो अभ्यासले कानुनी प्रणालीको उपहास गरेको टिप्पणी गरेका छन्। “क्याबिनेटबाट निर्णय गरेर पक्राउ गर्ने कुरा संसारमा कतै हुँदैन,” उनले भने।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.