काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले कानूनभन्दा माथि कोही पनि नरहेको बताएका छन्।
गत भदौ २३ गतेको जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले दोषी ठहर गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक लाई अनुसन्धानका लागि नियन्त्रणमा लिइनु प्रतिशोध नभएको उनले स्पष्ट पारे।
“कानूनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ, यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको शुरूआत हो,” मन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन्।
उनले अब देशले नयाँ दिशा लिने विश्वाससमेत व्यक्त गरेका छन्। बालेन्द्र शाह नेतृत्वमा गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेन-जी आन्दोलनको छानबिन गर्न गठित आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखक लगायतमाथि फौजदारी कानूनअनुसार कारबाही गर्न सिफारिस गरेको छ। सोही सिफारिसका आधारमा प्रहरीले दुवै नेतालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो।




