काठमाडौँ । जेन-जी आन्दोलन दमन प्रकरणमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।
ओलीलाई भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुस्थित निवासबाट शनिबार बिहान करिब ५ बजे प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय का प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
यस्तै, लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुवै नेतालाई काठमाडौँस्थित जिल्ला प्रहरी परिसर काठमाडौँ (भद्रकाली) मा राखिएको छ।
भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको दमनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओली र लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो।
आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार दुवै नेतामाथि अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको हो। उक्त प्रतिवेदन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई बुझाइएको थियो।




