Nidan Media

नवनियुक्त प्रधानमन्त्री बालेन शाहको जीवनी

काठमाडौँ । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

उनले राष्ट्रपतिबाट शपथग्रहण गरिसकेका छन् भने प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने तयारीमा छन्। नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमतप्राप्त संसदीय दलको नेताका रुपमा प्रधानमन्त्रीमा नियुक्त गर्दै राष्ट्रपति पौडेलले शपथ गराएका हुन्।

नवनियुक्त प्रधानमन्त्री शाह गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं ५ बाट निर्वाचित भएका थिए । उनले त्यस निर्वाचनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गरेका हुन्।

नवनियुक्त प्रधानमन्त्री शाह आयुर्वेदिक चिकित्सक डा रामनारायण शाह र ध्रुवादेवी शाहका सुपुत्र हुन् । उनको जन्म विसं २०४७ वैशाख १४ गते काठमाडौँको नरदेवीमा भएको हो । उनको पुख्र्यौली घर महोत्तरीको एकडारा हो ।

‘र्याप आर्टिस्ट’का रूपमा समेत ख्याति कमाएका शाहले भारतबाट एम टेक (संरचनागत इन्जिनियरिङ) र पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन्।

विसं २०७९ को स्थानीय तह निर्वाचनमा शाह काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन उनले गत माघ ४ गते महानगर प्रमुख पदबाट राजीनामा दिएका थिए ।

शाहले काठमाडौँको प्रमुख रहँदा पर्यटन र अर्थतन्त्र प्रवर्द्धनका लागि नेवा संरचनाको संरक्षणमा महत्वपूर्ण योगदान दिएका थिए । सहरी शासन र विकास कार्यक्रमको नेतृत्व, पूर्वाधार सुधार, सम्पदा संरक्षण र सेवा प्रवाहमा सुधारमासमेत उनको योगदान छ ।

साथै महानगरपालिकाका अवैध संरचना हटाउन, फुटपाथ तथा सहरी व्यवस्थापन गर्न योगदान दिए । नेपालका विभिन्न क्षेत्रमा विशेषगरी भूकम्पपछिको पुनःनिर्माण र सहरी व्यवस्थापनमा उनले उल्लेखनीय योगदान गरेका छन्।

शाहले २०७२ सालको भूकम्पपछिको पुनःनिर्माणमा सक्रिय सहभागिता जनाएका थिए । पुल, सडक र भवन डिजाइन तथा निर्माणमा अनुभव आर्जन गरेका शाहले सम्पदा संरक्षण तथा संरचनागत संरक्षण, पर्यटनमार्फत आर्थिक विकास र परम्परागत नेवा वास्तुकलामा विशेष जोड दिएका छन्।

दुई दर्जनभन्दा बढी र्याप कम्पोज गरेका शाहका सिर्जना भ्रष्टाचारको विरोध तथा सुशासनको अपेक्षा, युवा तथा सामाजिक मुद्दामा बढी केन्द्रित छन् । उनका गीतमा बेरोजगारी, असमानता, राजनीतिक विकृतिका साथै राज्य प्रणालीमाथि प्रश्न गरिएको हुन्छ ।

संविधानसभाको दोस्रो निर्वाचनपछि नै शाहले ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ गीत सार्वजनिक गर्दै देशप्रतिको आफ्नो चिन्ता व्यक्त गरेका थिए।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा समर्थन जनाका शाहमाथि आन्दोलनको कार्यादेश पूरा गर्नुपर्ने अभिभारा आइलागेको छ । नयाँ पुस्ताको बेचैनी र विद्रोहलाई सम्बोधन गर्दैै परिवर्तनको चाहनालाई उनले पूरा गर्नुपर्नेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.