Nidan Media

नवनियुक्त प्रधानमन्त्री बालेन शाहद्वारा शपथ ग्रहण

काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका छन्। यससँगै नेपालको ४३औँ प्रधानमन्त्रीको रूपमा उनी औपचारिक रूपमा पदभार सम्हाल्ने बनेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् ।

यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई आजै प्रधानमन्त्री नियुक्त गरेका थिए ।

नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो ।

राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि प्रधानमन्त्री शाहले छिट्टै मन्त्रिमण्डलका सदस्यहरूसँग कार्यभार सम्हाल्ने कार्यक्रम तय गरेका छन्।

प्रधानमन्त्री शाह गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नं ५ बाट निर्वाचित भएका थिए। उक्त निर्वाचनमा उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गरेका थिए।

विश्लेषकहरूका अनुसार प्रधानमन्त्री शाहको युवा नेतृत्व, अनुभव, र सामाजिक गतिविधिमा सक्रियता नयाँ सरकारलाई परिवर्तनमुखी र विकासप्रधान बनाउन सक्ने सम्भावना छ।

शाहले काठमाडौँ महानगरपालिकाका प्रमुख रहँदा पर्यटन प्रवर्द्धन, नेवा वास्तुकला संरक्षण, अवैध संरचना हटाउने, भूकम्पपछिको पुनर्निर्माण, सहरी पूर्वाधार सुधार र सेवा प्रवाह सुधारमा उल्लेखनीय योगदान दिएका थिए।

यसैगरी, उनले ¥याप आर्टिस्टका रूपमा सामाजिक मुद्दा, भ्रष्टाचार विरोध र सुशासनलाई प्रवर्द्धन गर्दै नयाँ पुस्ताको आवाज उठाएका छन्। विश्लेषकहरूले अब उनका कदम युवा अपेक्षा र राजनीतिक स्थायित्व दुवै सन्तुलनमा राख्न चुनौतीपूर्ण हुने टिप्पणी गरेका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.