काठमाडौँ। नेपालको ४३औँ प्रधानमन्त्रीको रूपमा बालेन शाह (बालेन्द्र शाह) नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता शाहलाई बहुमतप्राप्त दलको नेताका रूपमा संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरी शपथ गराएका छन्।
प्रधानमन्त्री शाहले आजै पदभार ग्रहण गर्ने तयारी गरेका छन्। उनी गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं ५ बाट निर्वाचित भएका थिए। उक्त निर्वाचनमा उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गरेका थिए।
व्यक्तिगत जीवन र शिक्षा
शाह आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र धु्रवादेवी शाहका सुपुत्र हुन्। उनको जन्म २०४७ साल वैशाख १४ गते काठमाडौँको नरदेवीमा भएको हो भने पुर्ख्यौली घर महोत्तरीको एकडारा हो। सिभिल इन्जिनियरिङमा स्नातक तथा भारतबाट एमटेक (संरचनागत इन्जिनियरिङ) गरेका शाहले व्यावसायिक र सामाजिक क्षेत्रमा नेतृत्वको अनुभव आर्जन गरेका छन्।
राजनीतिक यात्रा र उपलब्धि
शाहले विसं २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखको रूपमा निर्वाचित भई सेवा गरेका थिए। प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वारी दिनुअघि गत माघ ४ गते महानगर प्रमुख पदबाट राजीनामा दिएका थिए।
उनले काठमाडौँको प्रमुख रहँदा पर्यटन प्रवर्द्धन, आर्थिक विकास, नेवा संरचनाको संरक्षण, सहरी व्यवस्थापन र अवैध संरचना हटाउने कार्यमा उल्लेखनीय योगदान दिएका थिए। साथै भूकम्पपछिको पुनःनिर्माण, पुल, सडक तथा भवन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका छन्।
विशेषगरी, उनले नेवा वास्तुकला र सांस्कृतिक सम्पदाको संरक्षणसँगै सहरी सेवा सुधारमा ध्यान दिएका थिए। यसले काठमाडौँमा पर्यटन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको विश्लेषकहरू बताउँछन्।
सांगीतिक र सामाजिक योगदान
‘र्याप आर्टिस्ट’का रूपमा समेत ख्याति कमाएका शाहले दुई दर्जनभन्दा बढी र्याप कम्पोज गरेका छन्। उनका गीतमा बेरोजगारी, असमानता, भ्रष्टाचार विरोध, सुशासन र सामाजिक न्यायका विषय प्रधान छन्।
संविधानसभाको दोस्रो निर्वाचनपछि सार्वजनिक गीत ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ मार्फत उनले देशप्रतिको चिन्ता र नयाँ पुस्ताको अपेक्षालाई प्रस्तुत गरेका थिए।
हालैको भदौ २३-२४ गतेको जेन-जी आन्दोलनमा समर्थन जनाएका शाहमाथि युवा आन्दोलन र सामाजिक परिवर्तनका अपेक्षा कार्यान्वयन गर्ने चुनौती आएको छ। विश्लेषकहरूले यो अवस्था उनलाई नयाँ पुस्ताको विश्वास जित्न र प्रणालीगत सुधारमा सक्रिय भूमिका निभाउन दबाब दिने बताए।
प्रधानमन्त्रीको चुनौती र भविष्य
विश्लेषकहरूको भनाइ अनुसार शाहको नयाँ सरकार युवा नेतृत्व, नवप्रवर्तन र सुशासनको प्रतीक बन्न सक्ने अवसर पाएको छ। तर अनुभवको अभाव, राजनीतिक समीकरण र बहुपक्षीय अपेक्षाले प्रारम्भिक निर्णय र कार्यान्वयनमा चुनौती ल्याउन सक्छ।
उनले अबको कार्यकालमा काठमाडौँ र देशभरको भौतिक पूर्वाधार, पर्यटन प्रवद्र्धन, युवा रोजगारी, सामाजिक समानता र भ्रष्टाचार निवारणमा रणनीतिक पहल गर्नु पर्ने देखिन्छ।
प्रधानमन्त्री बालेनको नेतृत्वमा रास्वपाको सरकार परिवर्तनमुखी, युवा र विकासप्रधान संकेत प्रस्तुत गर्दै अघि बढ्ने सम्भावना रहेको विश्लेषकहरूले देखाएका छन्।





