काठमाडौँ। प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज नयाँ १५ सदस्यीय मन्त्रिमण्डल सार्वजनिक गरेको छ।
प्रधानमन्त्री शाहले आज मध्याह्न १२:३४ बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ भने पदभार ग्रहण २:१५ बजे सिंहदरबारमा हुने छ।
राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउने कार्यक्रम तय गरेसँगै नयाँ सरकार औपचारिक रूपमा कामकाज सुरु गर्न लागिएको छ। संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन भए पनि, यस मन्त्रिमण्डलमा राजनीतिक सन्तुलन र अनुभवको समिश्रणले यसको प्रभावकारिता कस्तो रहनेछ भन्ने प्रश्न उठिरहेको छ।

नयाँ मन्त्रिमण्डलमा प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, गृहमन्त्री सुदन गुरुङ, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, पर्यटन मन्त्री गनेश पौडेल, उद्योग मन्त्री अमरेशकुमार सिंह, भौतिक पूर्वाधार मन्त्री सुनील लम्साल, कृषिमन्त्री गीता चौधरी, शिक्षा मन्त्री सस्मित पोखरेल, स्वास्थ्य मन्त्री निशा मेहता, महिला बालबालिका मन्त्री सीता वादी, कानून मन्त्री सोबिता गौतम, ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र सञ्चार मन्त्री विक्रम तिमिल्सिना रहेका छन्।
विश्लेषकहरूका अनुसार नयाँ मन्त्रिमण्डलमा केही अनुभवी र केही नयाँ नेताहरूको संयोजन देखिन्छ। अर्थ, उद्योग, भौतिक पूर्वाधार जस्ता महत्वपूर्ण मन्त्रालयमा जिम्मेवारी पाउनुका साथै पार्टीभित्रको सन्तुलन कायम राख्न सकिन्छ कि भन्ने कुरा राजनीतिक दृष्टिले महत्वपूर्ण हुने देखिन्छ।
यद्यपि आलोचकहरूले भने यस मन्त्रिमण्डलमा प्रयोगात्मक र युवा नेतृत्वको प्रधानता रहेको टिप्पणी गरेका छन्।
अनुभवी नेताको कमीले प्रारम्भिक निर्णय र कार्यान्वयनमा चुनौती आउन सक्छ। तर समर्थकहरूले नयाँ युवा नेतृत्वले ताजा विचार र कार्यकुशलता ल्याउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहको मन्त्रिमण्डलको गठन राजनीतिक स्थायित्व र विकासगत कार्यान्वयनको परीक्षण हुने छ। आगामी दिनमा यसका निर्णय र कार्यशैलीले सरकारको धारणा र जनमतमा कस्तो प्रभाव पार्छ भन्ने सबैको नजरमा रहनेछ।





