Nidan Media

विश्व रंगमञ्च दिवस आज मनाइँदै

काठमाडौँ । आज मार्च २७ का दिन विश्वभर विश्व रंगमञ्च दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। समाजमा रहेका विकृति र विसंगतिहरू हटाउँदै सकारात्मक परिवर्तनका लागि नाटकमार्फत चेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

अन्तर्राष्ट्रिय थिएटर संस्थान (आईटीआई) ले सन् १९६१ मा यस दिवसको अवधारणा अघि सारेपछि सन् १९६२ देखि हरेक वर्ष मार्च २७ मा यो दिवस मनाउने परम्परा सुरु भएको हो। पहिलो पटक यस दिवसको सन्देश फ्रान्सका चर्चित नाटककार जीन कोक्टो ले दिएका थिए।

रंगमञ्च कला केवल मनोरञ्जनको माध्यम मात्र नभई समाजको यथार्थ चित्रण गर्ने सशक्त उपकरणका रूपमा स्थापित हुँदै आएको छ। यसले सामाजिक विकृति, अन्याय र असमानताविरुद्ध आवाज उठाउँदै नागरिकलाई सोच्न र परिवर्तनतर्फ उन्मुख हुन प्रेरित गर्ने काम गर्छ।

यस दिवसले विश्वभरका सरकार, नीति निर्माता तथा सरोकारवालाहरूलाई रंगमञ्चको सांस्कृतिक मात्र होइन, आर्थिक सम्भावनाबारे पनि ध्यानाकर्षण गराउने अवसर प्रदान गर्दछ। युनेस्को ले पनि यसको प्रवर्द्धनमा सहयोग गर्दै आएको छ।

नेपालमा पनि विभिन्न कार्यक्रममार्फत यो दिवस मनाइँदै आएको छ। यहाँ रंगमञ्चलाई मानव जीवनका विविध पक्षहरूको जीवन्त प्रस्तुति दिने माध्यमका रूपमा हेरिन्छ। सामाजिक सन्देश प्रवाह र चेतना विस्तारका दृष्टिले नाटक प्रभावकारी साधनका रूपमा स्थापित छ।

यद्यपि पछिल्लो समय नेपाली रंगमञ्चप्रति युवा पुस्ताको आकर्षण बढ्दै गएको सकारात्मक संकेत देखिए पनि रंगकर्मीहरूको आर्थिक अवस्था भने अझै सुदृढ हुन सकेको छैन। यसले रंगमञ्च क्षेत्रको दीगो विकासका लागि राज्यको नीति, लगानी र संरक्षण अझ आवश्यक रहेको देखाउँछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.