काठमाडौँ । चैत्रशुक्ल नवमीका दिन मनाइने ‘रामनवमी’ पर्व आज देशभर भगवान् श्रीरामचन्द्रको पूजा-आराधना गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ।
हिन्दू धर्मावलम्बीहरूको आस्थाअनुसार त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्याका सुपुत्रका रूपमा भगवान् रामको जन्म आजकै दिन भएको विश्वास गरिन्छ। उनलाई विष्णुको सातौँ अवतारका रूपमा पूजा गरिन्छ।
धर्मशास्त्रविद् देवमणि भट्टराईका अनुसार रामनवमी मनाउनुको मूल सन्देश मर्यादित, अनुशासित र न्यायपूर्ण शासन व्यवस्थाको कामना गर्नु हो। “रामराज्यमा जस्तै समाज अनुशासित र सुखी बन्न सके मात्र यस पर्वको वास्तविक अर्थ पूरा हुन्छ,” उनले बताए।
धार्मिक ग्रन्थहरूमा श्रीरामलाई ‘मर्यादा पुरुषोत्तम’का रूपमा वर्णन गरिएको छ।
उनले अधर्म र अन्यायको अन्त्य गरी सत्य र धर्मको मार्ग स्थापित गरेको विश्वास गरिन्छ।
‘व्रतार्क’ नामक ग्रन्थअनुसार आजको दिन व्रत बसी श्रीरामको पूजा, जप र ध्यान गर्नाले अनेक जन्मका पाप नाश भई मोक्ष प्राप्त हुने धार्मिक मान्यता छ। साथै, श्रीरामको जन्मका बेला सूर्य, मङ्गल, गुरु, शुक्र र शनि ग्रह एकसाथ परेको दुर्लभ योग रहेको पनि उल्लेख गरिन्छ।
यस अवसरमा श्रद्धालुहरूले पवित्र नदी तथा कुण्डहरूमा स्नान गर्ने, रामायण पाठ गर्ने तथा रातभर भजन–कीर्तन गर्ने परम्परा छ।
रामनवमीका अवसरमा जानकी मन्दिरमा विशेष मेला लाग्ने गरेको छ। त्यस्तै भारतको अयोध्यामा पनि भव्य उत्सव आयोजना गरिन्छ।
जनकपुरमा नेपाल र भारतबाट आएका हजारौँ श्रद्धालुहरूको ठूलो भीड लागेको छ। यहाँ रामलीला प्रदर्शन गर्नुका साथै भगवान् राम र सीताको विशेष पूजा गर्ने परम्परा रहिआएको छ।




