Nidan Media

पश्चिमी वायु सक्रिय: आजदेखि देशभर मौसममा ठूलो बदलाव, वर्षा र हावाहुरीको चेतावनी

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव शक्तिशाली बन्दै जाँदा आज शुक्रबारदेखि देशभरको मौसममा उल्लेखनीय परिवर्तन आउने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि शनिबार देशका धेरै स्थानमा वर्षा, हुरीबतास, चट्याङ तथा असिना पर्ने सम्भावना रहेको छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले बिहीबार साँझदेखि नै देशका विभिन्न भागमा बदली शुरूभइसकेको जानकारी दिएका छन्।

उनका अनुसार कास्की,  गोरखा, सिन्धुपाल्चोक, लमजुङ, सङ्खुवासभा, खोटाङ र नुवाकोटलगायत जिल्लामा वर्षा भइसकेको छ भने आज रातिदेखि यो प्रणाली अझ सक्रिय हुने देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो बुलेटिनअनुसार आज देशको हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

सबै प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा तथा तराईका थोरै क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको समेत प्रक्षेपण गरिएको छ।

शनिबार पनि गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशमा मौसम सामान्यतया बदली रहने जनाइएको छ।

कोशी, मधेस र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना कायमै रहनेछ।

विभागले हावाहुरी, असिनापानी र चट्याङबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

विशेषगरी पदयात्रामा रहेका पर्यटक तथा खेतीपातीमा संलग्न किसानहरूलाई आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.