ढाका । बंगलादेशको राजबारीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २५ पुगेको छ।
दौलतदिया घाटमा फेरी चढ्ने क्रममा यात्रुहरूले भरिएको बस पद्मा नदीमा खस्दा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा परेका बसमा करिब ४० जना सवार रहेको जनाइएको छ।
दमकल सेवाका अनुसार बसभित्रबाट ११ महिला, सात पुरुष र पाँच बालबालिकासहित २३ जनाको शव निकालिएको छ।
दुर्घटनास्थलबाट आठ जनालाई जीवितै उद्धार गरिएको थियो, तर उपचारका क्रममा दुई महिलाको अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या २५ पुगेको हो।
बाँकी बेपत्ता यात्रुको खोजी कार्य अझै जारी रहेको उद्धारकर्ताहरूले जनाएका छन्।
दुर्घटना बुधबार साँझ भएको हो। प्रारम्भिक अवस्थामा दुई जनाको मृत्यु पुष्टि भएको थियो भने पछि मृतक संख्या बढ्दै गएको हो।
बंगलादेशमा नदी पार गर्न सवारी साधनसहित यात्रुहरूलाई ओसार्न फेरी प्रयोग गरिने गरिन्छ।
सोही क्रममा बस फेरीमा चढ्ने क्रममा असन्तुलित भई नदीमा खसेको प्रारम्भिक अनुमान गरिएको छ।
यस घटनापछि प्रधानमन्त्री तारिक रहमानले उद्धार कार्यको समीक्षा गर्दै दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानको आदेश दिएका छन्।




