काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गर्दै एकीकृत रूपमा अगाडि बढ्न ‘साझा आयोजक समिति’ गठन गर्न प्रस्ताव गरेका छन्।
पार्टी अहिले इतिहासकै जटिल र चुनौतीपूर्ण मोडमा रहेको उल्लेख गर्दै उनले सबै पक्षलाई समेटेर साझा स्वामित्व सुनिश्चित नगरेसम्म कांग्रेस बलियो हुन नसक्ने धारणा व्यक्त गरे ।
प्रतिनिधि सभामा कांग्रेसको उपस्थिति ३८ सिटमा सीमित हुनु ‘अत्यन्त न्यून’ अवस्था भएको भन्दै उनले यसले पार्टीलाई गम्भीर समीक्षा र एकताको दिशामा लैजानुपर्ने आवश्यकता औंल्याए।
डा. महतले विगतमा सम्पन्न विशेष महाधिवेशन सबैको सहभागितामा हुन नसकेको र त्यसले अपेक्षित परिणाम दिन नसकेको टिप्पणी गरे।
आम निर्वाचनअघि नयाँ नेतृत्व ल्याउने उद्देश्यसहित गरिएको विशेष महाधिवेशनले पनि पार्टीलाई सशक्त बनाउन नसकेको उनको भनाइ छ।
उनका अनुसार अहिलेको विवाद समाधान गर्न विगतका कमजोरीमाथि दोषारोपण गर्नेभन्दा साझा बिन्दु खोजेर अघि बढ्नु आवश्यक छ।
“अब बहस गरेर ‘को सही, को गलत’ भन्नेमा समय खर्चिनु भन्दा साझा धारणा बनाएर पार्टीलाई एकीकृत गर्नु अहिलेको मुख्य आवश्यकता हो,” उनले भने।
आगामी नियमित महाधिवेशन सम्पन्न गर्न विशेष महाधिवेशनमा सहभागी र असहभागी सबै पक्षलाई समेटेर साझा आयोजक समिति बनाउनुपर्ने उनको प्रस्ताव छ।
यस्तो समितिले महाधिवेशनप्रति सबै पक्षको विश्वास बढाउने र सर्वस्वीकार्य नेतृत्व चयन गर्ने वातावरण निर्माण गर्ने उनको विश्वास छ।
नेता महतले शेरबहादुर देउवालगायत सबै पक्षले साझा समझ्दारीका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।
आगामी २२ गते अदालतबाट आउने निर्णयले कानूनी पक्षलाई सम्बोधन गर्ने भए पनि पार्टी एकता कायम गर्न राजनीतिक संवाद अपरिहार्य रहेको उनको भनाइ छ।
उनले पार्टीभित्र बढ्दो निराशालाई आशामा रूपान्तरण गर्न एकता नै प्रमुख उपाय भएको उल्लेख गर्दै सहमतिको वातावरण बनाउन आफू तयार रहेको स्पष्ट पारे।
साथै, सामाजिक सञ्जाल र मिडियामार्फत एकअर्कामाथि आरोप-प्रत्यारोप र गालीगलौज गर्ने प्रवृत्तिबाट मुक्त हुन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे। उनले यस्तो प्रवृत्तिले पार्टीलाई थप कमजोर बनाउने र चुनौती सामना गर्न कठिन बनाउने चेतावनी दिए।




