काठमाडौँ। नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ।
निगमले जारी गरेको प्रेस विज्ञप्तिमा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा समान १५ रुपैयाँ वृद्धि गरिएको जानकारी दिइएको छ।
निगमले मूल्य वृद्धिको कारण पश्चिम एसियामा जारी युद्धलाई औँल्याएको छ।
विज्ञप्तिमा उल्लेख छ, “अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि भइरहेको छ। विगत १५ दिनमा पाँच अर्ब रुपैयाँ घाटा हुने अनुमान गरिएको थियो भने पछिल्लो प्रक्षेपणअनुसार आगामी १५ दिनमा थप १५ अर्ब घाटा हुने देखिएको छ।”
निगमले वर्गअनुसार नयाँ मूल्य विवरण सार्वजनिक गरेको छ।
पहिलो वर्गअन्तर्गत रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १८४.५० रुपैयाँ कायम गरिएको छ।
दोस्रो वर्गका सुर्खेत र दाङमा १८६ रुपैयाँ, र तेस्रो वर्गका काठमाडौं, पोखरा र दिपायलमा १८७ रुपैयाँ कायम हुनेछ।
निगमले अन्तर्राष्ट्रिय बजारमा आकस्मिक मूल्य वृद्धिका कारण उत्पन्न विषम परिस्थितिमा सबै उपभोक्ता तथा सरोकारवालाहरूसँग सहयोगको अपील गर्दै पेट्रोलियम पदार्थको मितव्ययिता अपनाउन अनुरोध गरेको छ।
साथै, अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्ने वित्तिकै तत्काल पेट्रोलियम मूल्य घटाइने पनि विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्ति






