काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो खुशी र गर्व व्यक्त गरेकी छन्।
प्रधानमन्त्री कार्कीले असामान्य परिस्थिति बीच तोकिएको मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताइन्।
उनले निर्वाचन आयोग र सुरक्षाकर्मीहरूको प्रयासलाई उच्च सम्मान दिँदै यस उपलब्धिलाई लोकतन्त्रको मजबुत संकेतको रूपमा चित्रित गरिन्।
उनले भनिन्, “गत भदौ २३ र २४ गतेको ‘जेन-जी विद्रोह’ पछि मुलुकले चुनौतीपूर्ण परिस्थितिको सामना गर्नु परेको थियो। त्यसबीच असामान्य परिस्थितिलाई सामान्य पार्दै निर्वाचन सम्पन्न गर्नु हाम्रो लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो।”
प्रधानमन्त्री कार्कीले निर्वाचनले संवैधानिक प्रणालीलाई सुदृढ पार्दै लोकतान्त्रिक मूल्य र मान्यताको नयाँ अध्याय खोलेको उल्लेख गर्दै आम मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा स्पष्ट जनादेश दिएका भएको जानकारी दिइन्।
उहाँले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी को नेतृत्वमा आयोगले स्पष्ट कार्ययोजना, व्यावसायिक दक्षता र दृढ इच्छाशक्तिसँग निर्वाचन सम्पन्न गरेकोमा प्रसंशा व्यक्त गरिन्।
मतदाता दर्ता, राष्ट्रिय परिचयपत्रसँगको अन्तरआबद्धता, पुन: प्रयोगयोग्य सामग्रीको उपयोग, सरकारी खरिद प्रक्रिया, सुरक्षा व्यवस्थापन र निर्वाचन खर्चको पारदर्शिता जस्ता पहलहरूलाई ऐतिहासिक मानकको रूपमा प्रस्तुत गरिएको उनले बताइन्।
कार्यक्रममा प्रधानमन्त्री कार्कीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको लोकतान्त्रिक छवि उज्यालो बनेकोमा खुशी व्यक्त गर्दै, सहयोग पुर्याउने सबै सरोकारवालाहरूप्रति आभार प्रकट गरिन्।
साथै नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिइन्। उनले लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवद्र्धन र समृद्ध नेपाल निर्माणमा सबैको निरन्तर प्रयास रहने विश्वास व्यक्त गरिन्।




