मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका ले चैते दशैं (चैत्राष्टमी व्रत) का अवसरमा चैत १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नगरपालिकाको १८औँ नगरसभाबाट पारित निर्णयअनुसार उक्त दिन नगरपालिका क्षेत्रभित्रका सबै कार्यालयहरू बन्द रहने जनाइएको छ।
नगर प्रमुख विष्णुकुमार भाम द्वारा जारी सूचनामा नगरपालिका, वडा कार्यालय तथा मातहतका सबै निकायहरूमा बिदा रहने उल्लेख गरिएको छ।
तर, शैक्षिक संस्थाहरू भने पूर्वनिर्धारित परीक्षा तालिकाअनुसार सञ्चालन हुने भएकाले विद्यालयहरू बन्द नहुने स्पष्ट पारिएको छ।
नगरपालिकाले चैते दशैंको अवसरमा सम्पूर्ण नगरवासीमा शुभकामना व्यक्त गर्दै पर्वलाई आपसी सद्भाव र धार्मिक आस्थाका साथ मनाउन आग्रह गरेको छ।





