Nidan Media

बहुउद्देश्यीय हलमै संसद, शपथदेखि बैठकसम्म अस्थायी व्यवस्था

काठमाडौँ। प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण र बैठक सञ्चालनका लागि संघीय संसद सचिवालयले निर्माणाधीन संसद परिसरभित्र रहेको बहुउद्देश्यीय हललाई अस्थायी सभाकक्षका रूपमा तयार गरेको छ।

संसद भवन समयमै निर्माण सम्पन्न हुन नसकेपछि चैत १२ गते हुने नवनिर्वाचित सांसदहरूको शपथग्रहण यही हलमा गर्ने तयारी पूरा गरिएको संसद सचिवालयले जनाएको छ। सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार अधिकांश भौतिक पूर्वाधार तयार भइसकेका छन् भने केही प्राविधिक काम अन्तिम चरणमा छन्।

उनका अनुसार सिट व्यवस्थापन, रोष्ट्रम, सभामुख, महासचिव र सचिवालय बस्ने स्थानको तयारी पूरा भइसकेको छ। माइक्रोफोन जडानको काम जारी रहेको र तोकिएको समयभित्रै सम्पन्न हुने बताइएको छ। दुई सिटका लागि एउटा माइक्रोफोनको व्यवस्था गरिएको छ भने सुरक्षा तयारीसमेत पूरा गरिएको छ।

प्रवक्ता गिरीले हालको सेटअप पूर्ण रूपमा ‘आपतकालीन व्यवस्था’ भएको स्पष्ट पार्दै आवश्यक न्यूनतम सुविधा मात्रै उपलब्ध हुने बताए। “यो अस्थायी व्यवस्था हो, पूर्ण रूपमा व्यवस्थित सेवा उपलब्ध छैन। शपथ कार्यक्रम अघि पनि अन्तिम तयारी जारी रहनेछ,” उनले भने।

सचिवालयका अनुसार कार्यव्यवस्था महाशाखा सानो कोठाबाट सञ्चालन हुनेछ भने कार्य परामर्श समितिको बैठक पनि सोही परिसरमा राखिनेछ। सभामुखका लागि छुट्टै कोठा व्यवस्थापन गरिएको छ भने हलको करिडोर र प्यासेजमा समेत अतिरिक्त बस्ने व्यवस्था मिलाइँदैछ।

चैत १२ गते हुने शपथ कार्यक्रममा २४ जना सांसदले मातृभाषामा शपथ लिने तयारी गरिएको छ। त्यसपछि पहिलो बैठकसम्मको समय प्रयोग गरेर हललाई थप व्यवस्थित बनाउने योजना सचिवालयको छ।

स्थायी सभाकक्ष निर्माण सम्पन्न नभएसम्म प्रतिनिधिसभाका सबै बैठकहरू यही बहुउद्देश्यीय हलबाट सञ्चालन हुनेछन्। तर निर्माण कार्य कहिलेसम्म सकिन्छ भन्ने यकिन नभएको सचिवालयले जनाएको छ। पहिलो अधिवेशन नै यही हलबाट सञ्चालन हुने संकेत देखिएको छ।

सीमित स्थानका कारण सभाकक्ष साँघुरो बनेको छ। रोष्ट्रम, सभामुखको आसन र सचिवालय बस्ने स्थान न्यूनतम मापदण्डअनुसार मात्रै तयार गरिएको छ।

संसद सचिवालयले भने सरकारलाई भवन निर्माण समयमै सम्पन्न गर्न पटक–पटक आग्रह गरे पनि अपेक्षित प्रगति नभएको जनाएको छ। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षति पुगेपछि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोग गर्न नसकिने भएपछि सचिवालय वैकल्पिक व्यवस्था गर्न बाध्य भएको हो।

हाल सिंहदरबार परिसरको १५६ रोपनी क्षेत्रफलमा निर्माणाधीन संसद भवन २०७६ असोज १६ गते ठेक्का सम्झौता भई २०७९ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर पटक-पटक म्याद थपिँदा पनि निर्माण कार्य अझै अधुरै छ। विभिन्न ठेक्का प्रक्रिया पूरा भए पनि निर्माण समयमै सम्पन्न हुन नसक्दा संसद सञ्चालनमा अस्थायी व्यवस्थाको सहारा लिनुपरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.