Nidan Media

प्रतिपक्षमा रहँदा पनि रास्वपालाई आवश्यक सहयोग गर्न तयार छौँ : गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन परिणामलाई सम्मान गर्दै प्रतिपक्षमा रहँदा पनि पार्टीले जिम्मेवार भूमिका निर्वाह गर्ने स्पष्ट पारेका छन्।

मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा उनले मतदाताले सरकार सञ्चालनको अवसर नदिए पनि प्रतिपक्षको जिम्मेवारी दिएको उल्लेख गरे।

“हामी नागरिकमाझ मतको सम्मान गर्ने प्रतिबद्धता लिएर गएका थियौँ। सरकार सञ्चालनको जिम्मेवारी नपाए पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने दायित्व भने पाएका छौँ,” उनले भने।

थापाले सरकारमा हुँदा मात्र होइन, प्रतिपक्षमा रहँदा पनि प्रतिबद्धताबाट पछि हट्न नहुने धारणा राखे। “प्रतिज्ञा सत्ता बाहिर हुँदा कमजोर हुने होइन,” उनले स्पष्ट पारे।

उनले आगामी पाँच वर्ष नेपालमा सुशासन, विकास र सेवा प्रवाहको गति उल्लेखनीय रूपमा बढाउनुपर्ने आवश्यकता औंल्याए।

देशले विगतमा अस्थिरता र संकटको अनुभव गरेको भन्दै अबको अवधिमा त्यस्ता ‘दुर्घटना’ दोहोरिन नदिन सबै राजनीतिक शक्ति जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार सञ्चालनको जिम्मेवारी पाएको उल्लेख गर्दै थापाले आवश्यक सहयोग गर्ने तर आवश्यक पर्दा दबाब, प्रश्न र प्रोत्साहन पनि दिने बताए।

“देशलाई सुशासन र प्रभावकारी सेवा प्रवाहतर्फ अघि बढाउने मुख्य जिम्मेवारी सरकारको हो, र त्यसमा कांग्रेसको साथ रहनेछ,” उनले भने।

साथै, उनले आगामी पाँच वर्ष देशलाई द्वन्द्व, अस्थिरता र अतिवादबाट टाढा राख्नु सबै दलहरूको साझा जिम्मेवारी भएको उल्लेख गरे।

“अबको पाँच वर्ष नेपाल कुनै पनि प्रकारको संकट वा दुर्घटनामा पर्नु हुँदैन,” थापाले भने।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.