Nidan Media

आज विश्व क्षयरोग दिवस मनाइँदै

काठमाडौँ । आज विश्व क्षयरोग दिवस मनाइँदै छ । हरेक बर्ष मार्च २४ तारिखको दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ ।

क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको हो ।

यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धिलाई सम्झिने अवसर समेत प्रदान गरेको छ ।

यसैबीच सरकारले मंगलबार विशेष कार्यक्रमको आयोजना गरी विश्व क्षयरोग दिवस मनाउने भएको छ ।

‘राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागेको केन्द्रका उपसचिव कमलप्रसाद तिमल्सेनाले जानकारी दिए । उनको अनुसार संघ, प्रदेश र स्थानीय तहमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।

केन्द्रका अनुसार दिवसका अवसरमा र्याली, अन्तरक्रिया, सचेतनामूलक अभियान तथा मिडिया कार्यक्रमहरू सञ्चालन भएसकेका छन् ।
केन्द्रले क्षयरोग अन्त्यका लागि सबै सरोकारवालालाई सहकार्य गर्न आह्वान गरेको छ ।

नेपालमा क्षयरोग अझै पनि प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२४ मा नेपालमा अनुमानित ६७ हजार नयाँ क्षयरोगका बिरामी रहेका छन् । साथै, हरेक वर्ष करिब १६ हजार मानिसको क्षयरोगका कारण मृत्यु हुने गरेको अनुमान छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा ३९ हजारभन्दा बढी औषधि संवेदनशील क्षयरोगका बिरामी पहिचान गरी उपचार गरिएको केन्द्रले जनाएको छ । उपचार सफलता दर औषधि संवेदनशील क्षयरोगमा ९२ प्रतिशत र औषधि प्रतिरोधी क्षयरोगमा ७६ प्रतिशत छ ।

देशभर छ हजारभन्दा बढी स्वास्थ्य संस्थामार्फत क्षयरोग उपचार सेवा उपलब्ध गराइएको छ भने माइक्रोस्कोपी र आधुनिक परीक्षण सेवासमेत विस्तार गरिएको छ ।

साथै, औषधि प्रतिरोधी क्षयरोग उपचारका लागि विशेष केन्द्रहरू सञ्चालनमा रहेका छन् । यद्यपि, अझै पनि करिब ४२ प्रतिशत बिरामी उपचारको पहुँचमा आउन नसकेको तथ्यले चुनौती कायमै रहेको देखाउँछ। आर्थिक भार, सामाजिक लाञ्छना र स्रोतसाधनको अभावका कारण रोग नियन्त्रणमा कठिनाइ भइरहेको छ ।

सरकारले आगामी दिनमा एआई जडित डिजिटल एक्स–रे, द्रूत परीक्षण सेवा विस्तार तथा स्थानीय तहको नेतृत्वमा कार्यक्रम सुदृढ गर्ने योजना बनाएको जनाएको छ ।

केन्द्रले क्षयरोग अन्त्यका लागि सरकार मात्र नभई निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यम र सर्वसाधारणको सक्रिय सहभागिता आवश्यक रहेको जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.