काठमाडौँ। गत फागुन २१ मा सम्पन्न निर्वाचनमा पार्टी पराजयको नैतिक जिम्मेवारी लिँदै सभापति गगन कुमार थापाले दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले अस्वीकार गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा गत शुक्रबार र आज आइतबार बसेको बैठकले थापाको राजीनामा अस्वीकार गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो। उक्त प्रस्ताव उपसभापति विश्वप्रकाश शर्माले बैठकमा पेश गरेका थिए।
प्रवक्ता देवराज चालिसेका अनुसार सभापतिको राजीनामा अस्वीकार गर्ने निर्णय विभिन्न आधारमा गरिएको हो। पार्टीले जारी गरेको विज्ञप्तिअनुसार निर्वाचन पराजयका कारणहरू संरचनागत समस्या र नियन्त्रणबाहिरका परिस्थितिसँग जोडिएका ठहर गरिएको छ।
यस्तै, वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा थापाको नेतृत्व अझ आवश्यक रहेको निष्कर्ष निकालिएको छ। राजीनामा स्वीकृत गरिएमा पार्टीभित्र अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेको भन्दै अस्वीकार गर्नु उपयुक्त ठानिएको जनाइएको छ।
पार्टीले राजीनामालाई बाध्यकारी नभई नैतिक तथा स्वेच्छिक विषयका रूपमा लिँदै यसको सम्मान गर्दै अस्वीकार गरेको स्पष्ट पारेको छ।
साथै, सामूहिक जिम्मेवारीको सिद्धान्त, नेतृत्वको स्थायित्वको आवश्यकता र विशेष महाधिवेशनपछि शुरू गरिएको ‘कांग्रेस २.०’ सुधार कार्यक्रमलाई निरन्तरता दिनुपर्ने पक्षलाई पनि निर्णयको आधार बनाइएको छ।
बैठकले पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकतामा समेत जोड दिएको छ।





