Nidan Media

२१ औँ शताब्दीमा पनि जातीय विभेद दुःखद्: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले २१औँ शताब्दीमा पनि जातीय तथा रङ्गभेदका विषय उठाइरहनुपर्ने अवस्था रहनु दुःखद् भएको बताएका छन्।

अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले मानवको अन्तर्निहीत मर्यादा र आत्मसम्मानको संरक्षण सबैभन्दा महत्वपूर्ण विषय भएको उल्लेख गरे।

महानिरीक्षक कार्कीले सुरक्षालाई केवल भौतिक सुरक्षामा सीमित नराखी ‘मानवीय सुरक्षा’ को व्यापक अवधारणाबाट हेर्नुपर्नेमा जोड दिए।

उनका अनुसार भ्रूण अवस्थादेखि बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य र समग्र सुरक्षाको सुनिश्चितता राज्यको प्रमुख जिम्मेवारी हो। कानून र संविधानमा व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि व्यक्ति, संस्था र राज्य संयन्त्र सबै जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।

उनले वर्तमान समाजमा अझै पनि गोरोपनप्रतिको आकर्षण र रङ्गका आधारमा हुने भेदभाव मानसिकता समस्याको रूपमा रहेको औँल्याए।

सामाजिक सञ्जाल र मिडियाले समेत यस्ता धारणा बलियो बनाउने प्रवृत्तिप्रति सचेत हुनुपर्ने आवश्यकता उनले व्यक्त गरे। व्यक्तिगत र सामूहिक दुवै स्तरमा सोच परिवर्तन आवश्यक रहेको उनको धारणा छ।

दलित समुदायको न्यायमा पहुँच सुनिश्चित गर्न राज्यका संरचनामा रहेका अवरोधहरू हटाउनुपर्नेमा पनि उनले जोड दिए। न्यायमा पहुँचका लागि संस्कार, शिक्षा, व्यवहार र संस्थागत सुधार आवश्यक रहेको उनले स्पष्ट पारे।

प्रहरी संगठन पनि समाजकै प्रतिविम्ब भएकाले कानून कार्यान्वयनमा सकारात्मकता ल्याउन सबै पक्षको सहकार्य अपरिहार्य हुने उनको भनाइ थियो।

महानिरीक्षक कार्कीले नयाँ बन्ने कानून र संसदले समानता र न्यायको विषयलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए।

साथै, राज्यका महत्वपूर्ण पदमा रहेका व्यक्तिहरूले आफ्नो व्यवहारबाट समानताको उदाहरण प्रस्तुत गर्नुपर्नेमा उनको जोड थियो।

शिक्षाको पाठ्यक्रममै समानता र न्यायका मूल्यहरू समेटेर भावी पुस्तालाई सचेत बनाउनुपर्ने सुझाव पनि उनले दिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.