मुस्ताङ । विगत केही दिनदेखि जारी वर्षासँगै उच्च हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात भएको छ। शुक्रबारदेखि सुरु भएको हिमपातले उपल्लो मुस्ताङ तथा मुक्तिनाथ क्षेत्रको तापक्रम उल्लेख्य रूपमा घटाएको छ।
हिमपातका कारण लोमान्थाङ, छोसेर, लोघेकर दामोदरकुण्ड र मुक्तिनाथ आसपासका बस्तीहरू प्रत्यक्ष प्रभावित भएका छन्।
उच्च क्षेत्रमा बाक्लो हिउँ जम्दा जनजीवन प्रभावित हुनुका साथै यातायात सञ्चालनमा समेत समस्या देखिएको छ। विशेषगरी कागबेनी–कोरला सडक खण्डका विभिन्न स्थानमा हिउँ थुप्रिँदा सवारी साधन सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालयले हिमपातका कारण जोखिम बढेकाले पदयात्री तथा तीर्थयात्रीहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, आवश्यक बाहेक उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई सूचना जारी गरिएको छ।
यद्यपि लामो समयदेखिको खडेरीपछि परेको हिमपातले कृषकहरूमा भने केही आशा जगाएको छ। यहाँका किसानहरू स्याउ, जौ र आलु खेतीमा निर्भर रहेका छन्। हिमपातले जमिनमा आवश्यक ओस कायम राख्नुका साथै हानिकारक कीराहरू नष्ट गर्ने भएकाले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको स्थानीयको भनाइ छ।
यसैबीच, मौसममा आएको परिवर्तनले दैनिक जनजीवनमा असहजता ल्याए पनि कृषिका दृष्टिले सकारात्मक संकेत देखिएको छ। प्रशासनले मौसमको अवस्था सामान्य नहुँदासम्म सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।




