काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ ।
आज बिहान मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी र हिमाली भूभागमा अधिकांश बादल लागेको छ ।
साथै देशका बाँकी भूभागमा साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपात भइरहेको छ ।
आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशलगायत बाँकी प्रदेशको हिमाली भूभागका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।




