Nidan Media

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमसहित मनाइँदै छ।

उनको सम्झनामा नेपाली कांग्रेससहित भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले देशभर श्रद्धाञ्जली, विचार गोष्ठी र अन्य कार्यक्रम आयोजना गरी शान्ति प्रक्रिया र लोकतन्त्र स्थापनामा उनले खेलेको भूमिकाको स्मरण गरिँदैछ

वि.सं. २०६६ चैत ७ गते निमोनियाका कारण निधन भएका कोइराला नेपालमा दशक लामो सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति स्थापना गर्ने प्रमुख व्यक्तित्वका रूपमा परिचित छन्। उनको नेतृत्व र पहलमा शान्ति प्रक्रिया अघि बढ्दै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रतर्फ अघि बढेको थियो।

राजनीतिक अस्थिरताका बेला तत्कालीन राजा ज्ञानेन्द्रले निर्वाचित सरकार हटाएर प्रत्यक्ष शासन शुर गरेपछि कोइरालाको नेतृत्वमा दलहरू एकजुट भई आन्दोलन चर्किएको थियो। त्यस आन्दोलनले राजतन्त्रको अन्त्य र लोकतन्त्र पुनःस्थापनामा निर्णायक भूमिका खेलेको मानिन्छ।

विशेषगरी २०६२/६३ को जनआन्दोलनमा उनको नेतृत्वलाई ऐतिहासिक उपलब्धिका रूपमा लिइन्छ, जसले मुलुकलाई नयाँ राजनीतिक व्यवस्थातर्फ अघि बढाउने आधार तयार गरेको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.