Nidan Media

मधेसबाहेक छ प्रदेशमा हावाहुरीसहित वर्षा, सबैभन्दा बढी लुम्बिनीमा

काठमाडौँ । देशमा रहेको पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावले शुक्रबार दिउँसो मधेस बाहेकका छ ओटै प्रदेशमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार सबैभन्दा बढी वर्षा लुम्बिनीमा भइरहेको छ ।

उनले लुम्बिनीमा हल्कादेखि मध्यम वर्षा भइरहेको बताए ।

त्यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकीमा पनि वर्षा भइरहेको छ । कोशी र बागमती प्रदेशका केही भागमा वर्षा भएको छ ।

मौसमविद् दाहालले वर्षा हुँदा हावाहुरी र मेघगर्जनसहित भइरहेको बताए । काठमाडौँ उपत्यकामा पनि विस्तारै पानी परेको उनले जानकारी दिए । यो वर्षा दुईदेखि तीन घण्टासम्म रहने बताए ।

उनले मधेसमा पनि विस्तारै वर्षा हुने जनाए । शनिबार भने देशैभर वर्षा हुने सम्भावना रहेको बताए ।

महाशाखाका अनुसार दिउँसो देशका अधिकांश स्थानमा बदली लागेको छ । केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावनासमेत रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षा वा हिमपात हुने  सम्भावना छ ।

यसैगरी आज राति देशका अधिकांश स्थानमा बदली रहनेछ ।

कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

हिमपात र वर्षा हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारण, कृषिमा संलग्न हुने किसानका साथै ती भेगमा यात्रा गर्ने र यातायातका साधन सञ्चालनमा संलग्न सबैलाई महाशाखाले सावधानी अपनाएर आफ्ना नियमित गतिविधि सञ्चालन गर्न अनुरोध पनि गरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.