काठमाडौँ । क्षेत्रीय तनाव, सुस्त अर्थतन्त्र र आन्तरिक राजनीतिक उतारचढावका बीच थाइल्याण्डको संसद्ले अनुतिन चार्नभिराकुललाई पुनः प्रधानमन्त्रीमा निर्वाचित गरेको छ।
संसदीय मतदानमा आवश्यक २५० मतको सीमा पार गर्दै उनले स्पष्ट समर्थन हासिल गरेको एएफपीको गणनाले देखाएको छ।
निर्वाचित भएपछि अनुतिनले आफू सकेसम्म लामो समयसम्म जनताको सेवा गर्ने र जनताका समस्यामा तुरुन्त प्रतिक्रिया दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
अनुतिन नेतृत्वको भूमजाइथाई पार्टीले फेब्रुअरीमा सम्पन्न निर्वाचनमा उल्लेख्य सफलता हासिल गरेको थियो। कम्बोडियासँगको सीमा तनावका बेला राष्ट्रवाद र सुरक्षालाई मुख्य मुद्दा बनाएको उनको पार्टीले सीमामा पर्खाल निर्माण गर्ने र एक लाख स्वयंसेवक सैनिक भर्ती गर्ने जस्ता कडा एजेन्डा अघि सारेको थियो। यही रणनीतिका कारण भूमजाइथाई सबैभन्दा ठूलो दल बन्दै सरकार गठनको अग्रस्थानमा पुगेको बताइएको छ।
पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको फेउ थाई पार्टी (जो तेस्रो स्थानमा खुम्चिएको छ) सहित १४ साना दलहरूको समर्थनमा अनुतिनले गठबन्धन सरकार बनाएका हुन्।
५९ वर्षीय अनुतिन पारिवारिक निर्माण व्यवसायबाट करोडपति बनेका नेता हुन्। यसअघि थाक्सिनकी छोरी पेटोङ्तार्न सिनावात्रा प्रधानमन्त्री छँदा एक विवादास्पद टेलिफोन संवाद सार्वजनिक भएपछि राजनीतिक संकट उत्पन्न भएको थियो।
सो संवादमा उनले कम्बोडियाका पूर्वनेता हुन सेनलाई ‘काका’ भनेको र थाई सैन्य कमान्डरलाई ‘प्रतिद्वन्द्वी’ भनेको खुलासा भएपछि अनुतिनले आफ्नो पार्टीलाई गठबन्धनबाट अलग गराएका थिए, जसका कारण तत्कालीन सरकार ढलेको थियो।
यता, सुधारवादी पिपुल्स पार्टी भने दोस्रो स्थानमा सीमित हुँदै विपक्षीको भूमिकामा रहने भएको छ। सो पार्टीका नेता नात्थाफोङ रुएङपान्यावुटसहित १० सांसदमाथि शाही अपमानसम्बन्धी कानुनको विषयलाई लिएर कारबाहीको जोखिम रहेको बताइएको छ।





