काठमाडौं । नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने भएको छ । संघीय संसद सचिवालयले शुक्रबार सूचना जारी गरी नवनिर्वाचित सांसदहरूको सपथ चैत १२ गते बिहीबार हुने जनाएको हो ।
शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुने तय भएको छ । सांसदहरूलाई कार्यक्रम समय भन्दा दुई घन्टा चाँडै उपस्थित हुन सचिवालयले आग्रह गरेको छ ।
साथै नवनिर्वाचित सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रतिसहित औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उपस्थित हुन भनिएको छ ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट प्रत्यक्षबाट १६५ र समानुपातिकबाट ११० गरी २७५ जना निर्वाचित भएका छन्।
प्रतिनिधिसभामा अब ६ दल मात्र रहने भएका छन् । यही फागुन २१ मा भएको प्रत्यक्ष र समानुपातिक मतगणनापछि प्रतिनिधिसभामा ६ दल हुने निश्चित भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ । रास्वपाको प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सहित १८२ सांसद रहनेछन् ।
त्यस्तै, नेपाली कांग्रेसको प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सांसद रहनेछन् ।
नेकपा एमालेको प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी २५ सिट रहनेछ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ ९ गरी १७ सांसद संसद्मा रहने छन् ।
श्रम संस्कृति पार्टीको प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ चार गरी सात सांसद रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ चार गरी पाँच सांसद रहने छन् । त्यस्तै, स्वतन्त्र एक सांसद रहने छन् ।





