काठमाडौँ । अध्यागमन विभागले कुनै पनि खेलमा विदेशी खेलाडीलाई सहभागी गराउँदा कार्य सहमति र श्रम स्वीकृति अनिवार्य लिन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई आग्रह गरेको छ ।
विभागले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा एन्फामार्फत सञ्चालन हुने राष्ट्रिय महिला तथा पुरुष लिग फुटबल प्रतियोगितामा सहभागी क्लबहरूले पर्यटक भिसामा आएका विदेशी खेलाडीलाई समावेश नगर्न स्पष्ट निर्देशन दिएको छ ।
विभागका अनुसार केही क्लबहरूले पर्यटक भिसामा नेपाल आएका विदेशी खेलाडीलाई लिग प्रतियोगितामा समावेश गरेको भन्ने उजुरी प्राप्त भएपछि यस्तो निर्देशन जारी गरिएको हो ।
विज्ञप्तिमा विदेशी खेलाडीलाई खेलाउनुपर्ने भए नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउनुपर्ने उल्लेख गरिएको छ ।
यस विषयमा विभागले आजैदेखि अनुगमनसमेत शुरू गरेको जनाएको छ ।
भिसाको उद्देश्यविपरीत खेल गतिविधिमा संलग्न गराइएको पाइएमा सम्बन्धित खेलाडी र क्लबमाथि कानूनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।




