काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन योगदान पुर्याउने कर्मचारी, सुरक्षाकर्मी र आम नागरिकप्रति आभार व्यक्त गरेकी छन्।
कर्णाली प्रदेशको भ्रमणका क्रममा प्रधानमन्त्रीले निर्वाचनमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएको प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।
निर्वाचनअघि निरीक्षण भ्रमणमा कर्णाली जान नसकेकी प्रधानमन्त्री अहिले त्यहाँ पुगेर सरोकारवालासँग अन्तरक्रिया गरेकी हुन् ।
प्रधानमन्त्रीले मुगुको रारा र जुम्लाको खलङ्गामा जिल्ला स्तरीय सुरक्षा प्रमुखहरूसँग भेटघाट तथा छलफल गरिन्।
सीमित स्रोतसाधन र कठिन भूगोलका बाबजुद पनि प्रभावकारी समन्वयका साथ निर्वाचन सम्पन्न गराएको भन्दै उनले सुरक्षा निकाय र कर्मचारीहरूको प्रशंसा गरे ।
स्थानीय बासिन्दासँगको भेटमा उनले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न देखाइएको एकता, सद्भाव र सहकार्यको सराहना गर्दै धन्यवाद व्यक्त गरिन् ।
“देशले कठिन परिस्थितिमा पनि लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ, यसको श्रेय सम्पूर्ण नेपाली जनतालाई जान्छ,” प्रधानमन्त्रीले भनिन् ।
यस अवसरमा उनले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकनसमेत गरिन्।
विसं २०३७ मा स्थापना भएको उक्त शिक्षालय नेपालकै पुराना प्राविधिक शिक्षालयमध्ये एक मानिन्छ ।
भ्रमणका क्रममा विद्यार्थी, शिक्षक तथा स्थानीयले प्रधानमन्त्रीलाई स्वागत गरेका थिए ।
प्रधानमन्त्रीको भ्रमणको मुख्य उद्देश्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा धन्यवाद ज्ञापन गर्नुका साथै सरकारप्रति प्राप्त जनसमर्थनप्रति कृतज्ञता व्यक्त गर्नु रहेको प्रेस सल्लाहकार रावलले जानकारी दिए।



