सिन्धुली । सिन्धुलीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मन्थली नगरपालिका-६ का ४५ वर्षीय डल्ले माझी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका माझीको खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।
सोही दुर्घटनामा मोटरसाइकल चालक ३२ वर्षीय कैलाश तोलाङ्गे र मोटरसाइकलको पछाडि सवार ४९ वर्षीय दीपेन्द्र केसी घाइते भएका छन् । उनीहरूको काठमाडौँस्थित केएमसी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सुनकोशी गाउँपालिका-६ घुमाउने चैनपुरस्थित बीपी राजमार्ग सडक खण्डमा चैनपुरबाट खाल्टेतर्फ आउँदै गरेको बा.प्र ०२-०२७ प ११०० नम्बरको मोटरसाइकल र सिन्धुलीबाट काठमाडौँ जाँदै गरेको प्र.३-०२-०१४ प ८३६० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





