काठमाडौँ । कालीकोटमा साथीका बुबाले जवरजस्ती करणी गर्दा १३ बर्षकी एक बालिका गर्भवती भएको घटना बाहिर आएको छ।
साथीलाई भेट्न उनकै घरमा गएको समयमा साथीको बुवाबाट बलात्कार भएको भन्दै १३ वर्षीया किशोरीले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।
रास्कोट नगरपालिका वडा नं १ की बालिकालाई सोही ठाउँका ५३ वर्षीय बलबहादुर सार्कीले दुई पटकसम्म जबरजस्ती बलात्कार गरेकाे आरोप छ।
स्रोतका अनुसार बालिकाको महिनावारी रोकिएपछि फूपूले सोधीखोजी गर्दा बालिकाले आफू बलात्कारमा परेको बताएकी थिइन् । त्यसपछि उक्त घटना प्रहरीकोमा पुगेको हो ।
गत माघ १४ गते साथीको घरमा बसेकी बालिकालाई साथीको बुबाले आफूलाई बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ ।
साथीको घरमा गएको बेला साथीसँगै सुतिरहेको अवस्थामा साथीको बुवाले जवरजस्ती करणी गरेको बालिकाले जाहेरीमा उल्लेख गरेकी छन्।
माघ १३ गते राति र १४ गते बिहान बलात्कार गरी सार्कीले बालिकालाई घटनाबारे कसलाई नभन्न र भनेमा मारिदिने धम्की दिएका थिए ।
साथै घर बाहिर निस्किर सार्कीले पीडित बालिकालाई ५०० रुपैयाँ दिएको जाहेरीमा उल्लेख छ ।
जाहेरी परेपछि सार्कीलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला कार्यालयका प्रमुख डीएसपी हिमबहादुर खत्रीले जानकारी दिए ।




