काठमाडौँ । खोटाङको बालवेशी क्षेत्रमा एयर डाइनेस्टीको हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा एक जना यात्रु घाइते भएका छन्।
विमानस्थल कार्यालयका अनुसार घाइते यात्रु र चालकलाई तत्काल उद्धार गरी अर्को हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो। उनीहरूलाई दिउँसो १२ः४२ बजे ह्याम्स अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ।
दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौँबाट पाँच जना यात्रु र एक जना चालकसहित जम्मा छ जना लिएर उडेको थियो। बुधबार बिहान ११ः०९ बजे अवतरण गर्ने क्रममा हेलिकप्टर असन्तुलित भई जमिनमा पल्टिएको जनाइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल को नागरिक उड्डयन कार्यालयका अनुसार ‘एन–एएफक्यु’ चिन्ह भएको उक्त हेलिकप्टर खोटाङको बालवेशी (खानिडाँडाबाट करिब १७ किलोमिटर उत्तर-पूर्व) तर्फ जाँदै थियो।
घटनाबारे थप विवरण सङ्कलन भइरहेको जनाउँदै खोज तथा उद्धार समन्वय केन्द्रले दुर्घटनाको कारणबारे विस्तृत छानबिन गरिने जनाएको छ।





