काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरको मौसममा परिवर्तन देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदली देखिएको छ।
महाशाखाका अनुसार सुदूरपश्चिमसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका अन्य पहाडी र हिमाली क्षेत्रमा बदली रहने सम्भावना छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थान तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
यसैगरी कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा असिनासहित मध्यम वर्षा हुन सक्ने तथा तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।
रातिको समयमा कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहने तथा अन्य प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थान तथा अन्य हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
पहाडी क्षेत्रमा हल्का वर्षा र मौसम चिसिने सम्भावना रहेकाले सर्वसाधारणलाई चिसोबाट बच्न र आवश्यक सावधानी अपनाउन मौसम विभागले अनुरोध गरेको छ।





