सर्लाही । सर्लाहीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार शनिबार साँझ करिब ७ः३५ बजे विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको लु.प्र.०३-००१ ख ०४३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको प्र.२-०३–०१५ प ३३९६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका-१ छप्कैया घर भई हाल सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुर बस्दै आएका करिब ३४ वर्षीय सुनील महतोको मृत्यु भएको छ ।
सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार दुर्घटनामा महतो गम्भीर घाईते भएका थिए।
उनलाई एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो ।
उपचारका क्रममा उनको मृत्यु भएको प्रवक्ता राईले बताए।
दुर्घटनामा संलग्न बस र बस चालक दाङको तुल्सीपुर नगरपालिका-९ का करिब ३४ वर्षीय गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।





