काठमाडौँ । नेपाल आयल निगमले बजारमा देखिएको ग्यासको उच्च माग र आपूर्तिमा परेको चापलाई सम्बोधन गर्न नयाँ कदम चालेको छ।
निगमको बिहीबारको निर्णयअनुसार २०८२ फागुन २९ गतेदेखि लागू हुने गरी अब उपभोक्ताले आधा भरिएको ग्यास सिलिण्डर मात्र खरिद गर्न पाउनेछन्।
निगमका अनुसार अब एउटा सिलिण्डरमा ७.१ केजी मात्र ग्यास भरिनेछ र त्यसको मूल्य आधा अर्थात् ९५५ रुपैयाँ कायम गरिएको छ। यसअघि भरी सिलिण्डर ग्यासको मूल्य १९ सय १० रुपैयाँ तोकिएको छ । यसरी हेर्दा ग्यासको मूल्य र तौल दुवै घटेको छ ।
मध्यपूर्वमा जारी युद्धका कारण विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थ र ग्यासको आपूर्तिमा अवरोध सिर्जना भएपछि निगमले यो ‘रासन’ प्रणाली लागू गरेको हो।
विशेष गरी काठमाडौं उपत्यकामा पछिल्लो दुई–तीन महिनादेखि ग्यासको माग अस्वाभाविक रूपमा बढेको र उपभोक्ताहरूले अभाव हुने डरले आवश्यकताभन्दा बढी सञ्चित गर्न थालेपछि यस्तो निर्णय लिनुपरेको निगमको भनाइ छ।
भारतमा समेत ग्यास आपूर्तिमा समस्या देखिएका समाचारले नेपाली उपभोक्तामा त्रास बढेको पाइएको छ।
निगमका प्रवक्ता मनोज ठाकुरले सबै नागरिकलाई ग्यास उपलब्ध गराउन सहजीकरण गर्नका लागि यो व्यवस्था गरिएको बताउँदै अनावश्यक भण्डारण नगर्न आग्रह गरेका छन्।



