काठमाडौं । नेपाल वायुसेवा निगमले चट्याङ लागेर आफ्नो न्यारोबडी जहाजको शार्कलेटमा क्षति पुगेको घटनाबारे छानबिन गर्न आन्तरिक समिति गठन गरेको छ।
निगमका नायब प्रबन्ध निर्देशक डोलेश्वर कोइरालाको अध्यक्षतामा बनेको समितिले घटनाको क्रममा के भएको थियो, जहाजको प्राविधिक अवस्था र उडान सुरक्षासम्बन्धी पक्ष अध्ययन गरी प्रतिवेदन बुझाउने जनाइएको छ।
स्रोतका अनुसार हङकङमा अवतरण गर्नु पर्ने जहाजलाई यात्रुसहित काठमाडौं फर्काइएको विषयलाई सुरक्षाको दृष्टिले गम्भीर रूपमा हेरिएको छ। यसैबीच, फागुन २६ गते हङकङ उडानमा संलग्न ककपिट टोलीलाई तत्कालका लागि उडानबाट रोक लगाइएको छ र घटनाबारे विस्तृत लिखित प्रतिवेदन माग गरिएको छ।
उक्त घटनामा चट्याङ लाग्दा नेपाल एयरलाइन्सको न्यारोबडी जहाज नाइन–एन–एकेएक्सको एउटा शार्कलेटमा क्षति पुगेको थियो।
फागुन १२ गते काठमाडौंबाट हङकङ उडेको जहाज केही समयपछि बनेपामाथि आकाशमा पुगेको बेला चट्याङको प्रहारमा परेको थियो।
तर जहाजले करिब चार घण्टाको उडानपछि हङकङमा सुरक्षित अवतरण गरेको थियो।
निगमका स्रोतका अनुसार मर्मतका लागि जहाजलाई मलेसिया पठाउने तयारी गरिएको थियो, तर आवश्यक स्वीकृति नआएपछि उडान हाल स्थगित गरिएको छ।
एयरबस कम्पनीबाट औपचारिक निर्देशन आएपछि यात्रु नबोकी विशेष उडानमार्फत जहाज मलेसिया लगिने योजना रहेको छ।





