काठमाडौं । परराष्ट्रमन्त्री बाला नन्द शर्माले इजरायलमा कृषि क्षेत्रमा कार्यरत नेपाली कामदारको सुरक्षाबारे विभिन्न टिकाटिप्पणी भए पनि त्यहाँ आवश्यक सुरक्षा व्यवस्था रहेको बताएका छन् ।
बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा उनले धेरै कृषि क्षेत्रमा बंकर (सुरक्षा आश्रय) उपलब्ध रहेको बताए । आफू स्वयं इजरायल पुगेर बंकरको अवस्था अवलोकन गरेको उल्लेख गर्दै यस विषयमा इजरायली पक्ष गम्भीर रहेको उनले बताए ।
मन्त्री शर्माले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षाप्रति सरकार पूर्ण रूपमा जिम्मेवार रहेको स्पष्ट पार्दै आवश्यक परे उद्धार गर्न सरकार तयार रहेको पनि बताए । पश्चिम एशियामा करिब ३० लाख नेपाली रहेको उल्लेख गर्दै उनीहरूको सुरक्षाका लागि योजनाबद्ध रूपमा काम गर्नुपर्ने उनले बताए ।
यसैबीच परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले पश्चिम एशियामा विकसित घटनाक्रमलाई मन्त्रालयले नजिकबाट निगरानी गरिरहेको जानकारी दिए । उनका अनुसार हालसम्म उक्त क्षेत्रमा रहेका नेपाली नागरिक सुरक्षित छन् ।
सचिव राईले अहिलेको अवस्थालाई हेर्दा तत्काल नेपाली नागरिकलाई उद्धार गरेर स्वदेश फर्काउनुपर्ने जोखिमपूर्ण अवस्था नदेखिएको बताए ।
उनका अनुसार परराष्ट्र मन्त्रालयले पश्चिम एशियामा रहेका नेपाली कूटनीतिक नियोगहरूसँग दैनिक रूपमा बिहान र बेलुका सम्पर्क गरिरहेको छ । सरकारद्वारा गठन गरिएको ‘इमर्जेन्सी रेस्पोन्स टिम’का निर्णयहरू पनि ती नियोगमार्फत कार्यान्वयन भइरहेका छन् ।
सचिव राईले नेपालमा रहेका परिवारजन र पश्चिम एशियामा बसोबास गर्ने नेपालीहरूलाई अनावश्यक रूपमा चिन्तित नहुन आग्रह गरेका छन् । आवश्यक अवस्था आएमा सरकारले जुनसुकै हालतमा पनि नेपाली नागरिकको उद्धार गर्ने उनले बताएका छन् ।



