काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सम्बन्धित रिट निवेदनमाथि पूर्ण सुनुवाइ गर्न आदेश दिएको छ ।
सहकारीसम्बन्धी मुद्दा र सम्पत्ति शुद्धीकरणको कसूर संशोधनसहित फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथि पूर्ण सुनुवाइ गर्न अदालतले आदेश दिएको हो ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त मुद्दा आगामी चैत १ गते पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
आदेशमा मुद्दाको विषयवस्तु हेर्दा तत्काल किनारा लाग्नुपर्ने प्रकृतिको देखिएकाले पेसी स्थगित नगरी तोकिएको मितिमै पूर्ण सुनुवाइका लागि पेश गर्न भनिएको छ ।
महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्ध अदालतमा विचाराधीन सहकारी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधनसहित फिर्ता लिने निर्णय गरेकी थिइन् ।
उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितका कानून व्यवसायीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
हालै सम्पन्न निर्वाचनमा लामिछाने चितवन–२ बाट पुनः निर्वाचित भएका छन् ।



