काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र एलपी ग्यास आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
निगमले बुधबार विज्ञप्ति जारी गर्दै मासिक एक सिलिन्डर खपत हुने अवस्थामा थप सिलिन्डर भर्ने वा अनावश्यक भण्डारण नगर्न अनुरोध गरेको हो । साथै ग्यासको सट्टा सम्भव भएसम्म बिजुलीको प्रयोग बढाउन पनि आग्रह गरिएको छ ।
नेपाल पेट्रोलियम पदार्थमा पूर्ण रूपमा आयातमा निर्भर रहेको भन्दै यसको खपतमा सावधानी अपनाउन आवश्यक रहेको निगमले जनाएको छ ।
निगमका अनुसार ग्यास सिलिन्डर अनावश्यक रूपमा भण्डारण गरेको, बढी मूल्य लिएर ग्यास वा पेट्रोलियम पदार्थ बिक्री गरेको वा नयाँ सिलिन्डरको अवैध बजारीकरण गरेको पाइएमा कारबाही गरिनेछ ।
मध्यपूर्व क्षेत्रमा देखिएको समस्याका कारण विश्व बजारमा प्रभाव पर्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै निगमले आवश्यक परिमाणमा मात्र इन्धन र ग्यास खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ ।
निगमले हाल इन्धन र एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित रूपमा भइरहेको पनि जनाएको छ ।



