Nidan Media

समानुपातिक मतगणना अन्तिम चरणमा, आज अन्तिम नतिजा आउने

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार कुनै प्राविधिक अवरोध वा विवाद नभएमा बुधबार दिउँसोसम्म समानुपातिकतर्फको पूर्ण नतिजा सार्वजनिक हुनेछ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले मंगलबार सञ्चारमाध्यमसँग कुरा गर्दै अब तीनदेखि चार ओटा निर्वाचन क्षेत्रको मात्र मतगणना बाँकी रहेको जानकारी दिए।

मतगणनाको वर्तमान गति कायम रहेमा आज मध्यरात वा बुधबार बिहानसम्म गणना सकिने र भोलि दिउँसोसम्म अन्तिम परिणाम घोषणा गरिने आयोगको प्रक्षेपण छ। यद्यपि, मत सदर वा बदरको विषयमा उम्मेदवारका प्रतिनिधिहरूबीच विवाद देखिएमा नतिजा आउन केही समय थपिन सक्ने जिसीले बताए।

प्रारम्भिक नमुना संकलनका आधारमा हालसम्म तीनदेखि चार प्रतिशत मत बदर भएको देखिए पनि अन्तिम नतिजासम्म यो दर करिब पाँच प्रतिशत पुग्न सक्ने आयोगको अनुमान छ।

समानुपातिकतर्फको गणना सम्पन्न भएलगत्तै प्राप्त मतका आधारमा सिट बाँडफाँडका लागि दलहरूलाई औपचारिक पत्राचार गरिने आयोगले जनाएको छ।

प्रत्यक्षतर्फका सबै १६५ निर्वाचन क्षेत्रको नतिजा यसअघि नै घोषणा भइसकेको छ, जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व सफलता हात पारेको छ। प्रत्यक्षतर्फ १२५ सिट जित्दै रास्वपा संसद्को सबैभन्दा ठूलो र पहिलो दल बनेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.