काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १६५ मध्ये १६२ ओटा निर्वाचन क्षेत्रको नतिजा आएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२४, नेपाली कांग्रेस १७, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ८, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ७, श्रम संस्कृति पार्टी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवार एक/एक जना विजयी भएका छन् । यो अवधिसम्ममा निर्वाचित उम्मेदवारमध्ये रास्वपाका अधिकांश उम्मेदवार ठूलो मतान्तरले विजयी भएका छन् ।
मतगणना जारी रहेका तीन स्थानमध्ये रास्वपा १ स्थानमा अगाडि छ । कांग्रेस एक र एमाले १ स्थानमा अगाडि रहेको छ । धनुषा १ को मतपरिणाम सार्वजनिक नगर्न निर्वाचन आयोगले रोकेको छ । धनुषाको क्षेत्र नम्बर १ मा उम्मेद्वारी दिएका रास्वपाका किशोरी साह कमलको उम्मेद्वारी खारेज रहेको अवस्थामा उनले २० हजार भन्दा बढी मत प्राप्त गरेका छन् ।
साहविरुद्ध फागुन १० गते निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । साहको स्वामित्वमा रहेको कमल निर्माण सेवा कालोसूचीमा रहेको भन्दै उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले फागुन ११ गते उजुरी निर्वाचन आयोगमा पठाएको थियो । आयोगले फागुन १४ गते साहसँग स्पष्टीकरण मागेको थियो भने १८ गते उनको उम्मेद्वारी खारेज गर्ने निर्णय गरेको थियो ।
मतपत्र छपाइ भइसकेकाले उनको उम्मेद्वारीको चिन्ह भने यथावत नै रह्यो । अहिले मतगणना कार्य चलिरहँदा घण्टी चिह्नमा २० हजार ९१६ मत परेको छ । उम्मेद्वारी खारेज भए पनि धेरै मत परेपछि निर्वाचन आयोगले सूचना जारी गर्दै मतगणनाको परिणाम सार्वजनिक नगर्न निर्देशन दिएको छ । योसंगै उक्त क्षेत्रको मतगणना अन्योलमा परेको छ ।
रास्वपा पछि उक्त क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मातृकाप्रसाद यादवले अन्तिम मतगणना सार्वजनिक भएअनुसार सात हजार ५६६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रामपल्टन साह सात हजार ४२८ प्राप्त गरेका छन् । हाललाई १६४ स्थानको मात्र परिणाम आउने छ ।



