काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीका नेता तथा कार्यकर्तालाई आवश्यकता भन्दा बढी उत्साहित नहुन आग्रह गरेका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम रास्वपाको पक्षमा आउन थालेपछि उनले त्यसलाई उत्साह मात्र नभई देशको समस्या समाधान गर्ने जिम्मेवारीका रूपमा लिन आग्रह गरेका हुन्।
धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा भारी मतले निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै झाले मतदाताले दिएको विश्वासलाई निराश नपार्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले आफू र आफन्तका लागि नभई देशका लागि राजनीति गर्न आएको भन्दै सुधार सम्भव रहेको बताए। मतदाताले परिवर्तन चाहेको सन्देश मतपेटिकामार्फत प्रकट भएको उनको भनाइ छ ।
झाले मधेस प्रदेशमा पनि रास्वपाप्रति जनताको समर्थन बढ्दै गएको बताए। तर यसलाई उत्साहभन्दा बढी जिम्मेवारीका रूपमा लिनुपर्ने उनले उल्लेख गरे।
उनले पार्टीका नेता तथा कार्यकर्तालाई अधिकारको दुरुपयोग नगर्न र आफूहरूप्रति कठोर भएर काम गर्न आग्रह गरे। नेता बन्ने भन्दा पनि जनताको सहजकर्ता बनेर सेवा गर्नुपर्ने उनको भनाइ छ ।
झाले पार्टीभन्दा पनि नागरिक महत्वपूर्ण भएको भन्दै विकास र सुधारलाई प्राथमिकता दिनुपर्ने बताए। रास्वपाले नेता होइन, सहकर्मीको रूपमा जनताको सेवा गर्ने उनले स्पष्ट पारे।



