काठमाडौँ। म्याग्दीबाट स्वतन्त्र उम्मेद्वार महावीर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् ।
पुन २२ हजार ८५० मतका साथ निर्वाचित भएका हुन् ।
प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार ८८४ र नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले तीन हजार ५२९ मत प्राप्त गरेका छन् ।
यसैबीच पुनले सामाजिक सञ्जालमार्फत जुलुस निकालेर चुनावमा हारेका प्रतिस्पर्धीलाई उडाउन नहुने भन्दै बेनीमा विजय जुलुस निकाल्न कोही पनि पैसा र समय खर्च गरेर नआउन आग्रह गरेका छन्।
नारा, जुलुस, भोज भतेर जस्ता आडम्बरी कुरा आफूलाई मन नपर्ने भन्दै आफ्नो जीतमा खुसीयाली मनाउन चाहनेले आफ्नो गाउँघरमा नै मनाउन उनले भनेका छन् ।
उनले लेखेका छन्, ‘जीत पक्का भयो। त्यसैले फेरि पनि भन्छु– बेनीमा विजय जुलुस निकाल्न कोही पनि पैसा र समय खर्च गरेर नआउनु होला। किन भने विजय जुलुस निकालेर चुनावमा हारेका प्रतिस्पर्धीलाई उडाउन हुन्न। आउँदा दिनमा विपक्षीहरूसंग नै मिलेर म्याग्दीको विकासका लागि काम गर्नुपर्छ। अनि नारा, जुलुस, भोज भतेर जस्ता आडम्बरी कुराहरू मलाई पटक्कै मन पर्दैन। मेरो जीतमा खुसीयाली मनाउन चाहनु हुन्छ भने आफ्नो गाउँघरमा नै मनाउनु होला।’




