Nidan Media

इंग्ल्यान्डलाई ७ रनले हराउँदै भारत आईसीसी टी-२० विश्वकपको फाइनलमा

काठमाडौँ। रोमाञ्चक खेलमा इंग्ल्यान्डलाई ७ रनले हराउँदै भारत आईसीसी टी-२० विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।

मुम्बईको वानखेडे स्टेडियममा बिहीबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा भारतले इंग्ल्यान्डलाई पराजित गर्दै लगातार दोस्रो पटक फाइनल यात्रा तय गरेको हो ।

भारतले दिएको २५४ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २४६ रन मात्र बनाउन सक्यो । अन्तिम चरणमा खेल निकै रोमाञ्चक बने पनि इंग्ल्यान्ड लक्ष्यसम्म पुग्न असफल रह्यो ।

अन्तिम तीन ओभरमा इंग्ल्यान्डलाई जितका लागि ४५ रन आवश्यक थियो । १७औं ओभरमा जसप्रित बुमराहले किफायती बलिङ गर्दै ६ रन मात्र दिए । त्यसपछि १९औं ओभरमा हार्दिक पान्ड्याले साम करानलाई आउट गर्दै ९ रन मात्रै खर्चिएपछि इंग्ल्यान्ड दबाबमा परेको थियो ।

अन्तिम ओभरमा इंग्ल्यान्डलाई जितका लागि ३० रन चाहिएको अवस्थामा शिवम दुबेले बलिङ गरेका थिए । पहिलो बलमा दुई रन लिने प्रयास गर्दा शतक बनाएका ज्याकब बेथेल रनआउट भए । त्यसपछि आएका जोफ्रा आर्चरले लगातार तीन छक्का प्रहार गरे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन ।

इंग्ल्यान्डका लागि बेथेलले उत्कृष्ट प्रदर्शन गर्दै ४८ बलमा ८ चौका र ७ छक्कासहित १०५ रन बनाए । सुरुआतमा लगातार विकेट गुमाएर दबाबमा परेको इंग्ल्यान्डका लागि उनले जितको आशा जीवित राखेका थिए ।

बेथेलले विल ज्याक्ससँग पाँचौं विकेटका लागि ७७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । ज्याक्सले २० बलमा ३५ रन बनाउँदा कप्तान जस बट्लरले २७ रन जोडे ।

भारतका लागि अर्शदीप सिंह, जसप्रित बुमराह, वरुण चक्रवर्ती, अक्षर पटेल, हार्दिक पान्ड्या र शिवम दुबेले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २५३ रनको विशाल स्कोर बनाएको थियो । सन्जु सामसनले आक्रामक ब्याटिङ गर्दै ४२ बलमा ८ चौका र ७ छक्कासहित ८९ रन बनाए ।

शिवम दुबेले २५ बलमा ४३ रन बनाउँदा इशान किशनले १८ बलमा ३९ रन जोडे । हार्दिक पान्ड्याले २७ तथा तिलक वर्माले २१ रनको योगदान दिए ।

इंग्ल्यान्डका विल ज्याक्स र आदिल राशिदले दुई–दुई विकेट लिए भने जोफ्रा आर्चरले एक विकेट हात पारे ।

भारतले अब उपाधिका लागि आइतबार न्यूजील्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

फाइनल खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.