काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान कार्य देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ ।
निर्वाचन आयोगका अनुसार बिहीवार बिहान ७ देखि साँझ ५ बजेसम्म भएको मतदानमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विशिष्ट परिस्थितिमा घोषणा गरिएको निर्वाचन तोकिएकै मितिमा सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए ।
उनका अनुसार मतदानका लागि तोकिएको समयभित्र मतदान केन्द्रमा प्रवेश गरेका केही मतदाताले अझै केही केन्द्रमा मतदान गरिरहेका छन् ।
खसेको मतको विस्तृत विवरण संकलन गर्ने काम जारी रहेको पनि आयोगले जनाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको प्रारम्भिक प्रतिवेदनमा छिटफुट अवरोधबाहेक देशभर निर्वाचन शान्तिपूर्ण रहेको उल्लेख गरिएको छ ।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मतदान सकिएसँगै मतपेटिका सुरक्षित रूपमा संकलन गरी ‘निर्वाचन निर्देशिका २०८२’ अनुसार तत्काल मतगणना सुरु गरिने बताए ।
उनले निर्वाचन सफल बनाउन सहयोग गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, निर्वाचन कर्मचारी, राजनीतिक दल, उम्मेद्वार, सञ्चारकर्मी तथा आम मतदाताप्रति आयोगले धन्यवाद व्यक्त गरेको पनि जानकारी दिए ।
आयोगका अनुसार भौगोलिक रूपमा दुर्गम १५ जिल्लाबाट मतपेटिका हेलिकप्टरमार्फत ढुवानी भइरहेको छ ।
ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र पूर्वी रुकुमका सबै मतपेटिका आजै सम्बन्धित मतगणना स्थलमा पुर्याउने लक्ष्य राखिएको छ ।
यसैगरी संखुवासभा, सोलुखुम्बु, गोरखा, पश्चिम रुकुम, मनाङ, बाजुरा र हुम्लाका मतपेटिका भने शुक्रबार बिहानसम्म मतगणना स्थलमा पुर्याइने आयोगले जनाएको छ ।




