काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा-५ का उम्मेद्वार बालेन शाह मतदान गरेपछि आफ्नो निर्वाचन क्षेत्र झापा जान चढेको हेलिकोप्टर बीच बाटोबाटै काठमाडौँ फर्किएको घटनाले यतिखेर विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।
बिहीबार काठमाडौँमा मतदान गरेपछि शाह आफ्नो निर्वाचन क्षेत्र झापा जाने तयारीमा हेलिकोप्टरमार्फत प्रस्थान गरेका थिए ।
तर उनी सवार हेलिकोप्टर झापामा अवतरण नगरी बीच बाटोबाटै काठमाडौँ फर्किएको जानकारी आएको छ ।
हेलिकोप्टर अचानक काठमाडौं फर्किएपछि सामाजिक सञ्जाल र सञ्चार माध्यममा विभिन्न अड्कलबाजी शुरू भएका छन् । केहीले अनुमति नलिई उडान भरेको भन्दै प्रश्न उठाएका छन् ।
निर्वाचन आयोगकी सहायक प्रवक्ता सीता पुनले अनुमति नलिएको भन्ने कुरा गलत हल्ला मात्र भएको बताइन् ।
‘उहाँको हेलिकोप्टर किन फर्कियो भन्नेबारे आयोगलाई जानकारी हुँदैन,’ पुनले भनिन्, ‘तर अनुमति नलिएको भन्ने कुरा हल्ला मात्रै हो । बुधबार बालेनजी आफैं आयोगमा आएर अनुमति लिनुभएको थियो ।’
हेलिकोप्टर किन बीच बाटोबाटै फर्कियो भन्नेबारे भने आधिकारिक कारण खुल्न बाँकी रहेको छ ।
यसैबीच आयोगले विज्ञप्तिमार्फत समेत बालेनले अनुमति लिएको जनाइसकेको छ ।
‘निर्वाचन आयोगले मिति २०८२ फागुन २१ गतेका लागि काठमाडौँ-झापा उडानका लागि हेलिकोप्टर प्रयोग गर्न अनुमति दिएको हो । आयोगले यस सम्बन्धमा पठाएको पत्रमा सो रुटमा मात्र हेलिकोप्टर प्रयोग गर्न पाइने उल्लेख गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
आयोगका अनुसार हेलिकोप्टर प्रयोग गर्दा लाग्ने सम्पूर्ण खर्चको छुट्टै अभिलेख राख्नुपर्ने र आयोगले माग गरेको अवस्थामा सो विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
निर्वाचन खर्चको पारदर्शिता सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको आयोगले जनाएको छ ।




