Nidan Media

निर्वाचनमा गैरकानूनी वा अवाञ्छित गतिविधि गर्नेलाई गृहमन्त्रीको कडा चेतावनी

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२’ का लागि देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति गरिएको बताएका छन् ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, धाँधलीरहित र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी पूरा गरेको बताएका हुन् ।

उनले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन अपील गरेका छन् ।

गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षा, मतपत्र तथा मतपेटिका ढुवानीका स्पष्ट मापदण्ड बनाइएको र उश्रृङ्खल गतिविधि गर्नेमाथि कडा कारबाही हुने बताए ।

उनका अनुसार सरकारले निर्वाचनका लागि ‘एकीकृत सुरक्षा योजना’ पारित गरी सोही आधारमा सुरक्षा संयन्त्र परिचालन गरिसकेको छ । अहिले देशभरका सबै मतदान स्थलमा सुरक्षाकर्मी पुगिसकेका छन् ।

उनले भने, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि एकीकृत सुरक्षा योजना पारित गरेर त्यसैको आधारमा हाम्रा संयन्त्र परिचालित छन् । सोही अनुसार सबै सुरक्षा संयन्त्र मतदान स्थलसम्म पुगेका छन् । अब जतिखेर जे आवश्यक पर्छ, त्यतिखेर सुरक्षाको अवस्थालाई नियन्त्रणमा राख्ने र सहजीकरण गर्ने गरी देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति गरिएको छ ।’

गृहमन्त्री अर्यालले सुरक्षा व्यवस्था मजबुत रहेकाले कुनै पनि प्रकारको असुरक्षा महसुस गर्नु नपर्ने स्पष्ट पारे ।

मतदान सम्पन्न भएपछि मतपेटिका कसरी सुरक्षित रूपमा निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याइन्छ भन्ने विषयमा पनि गृहमन्त्री अर्यालले स्पष्ट पारे ।

सुरक्षा योजनाको अनुसूची २ मै मतपेटिका बोक्ने गाडीको व्यवस्थापनबारे स्पष्ट उल्लेख गरिएको उनले जानकारी दिएका छन् ।

उनका अनुसार गाडीको अगाडि ड्राइभर र मतदान अधिकृत बस्नेछन् । त्यसको पछाडि मतपेटिका राखिनेछ, मतपेटिकाको पछाडि प्रहरी बस्नेछन् र सबैभन्दा पछाडि मात्र उम्मेदवारका प्रतिनिधि रहनेछन् ।

साथै, मतपेटिका बोकेको गाडीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गाडीले स्कर्टिङ गर्नेछ । आवश्यक परेमा वा असुरक्षा महसुस भएमा नेपाली सेनाको गाडीले पनि स्कर्टिङ गर्न सक्ने व्यवस्था गरिएको छ ।

निर्वाचनको समयमा कुनै पनि गैरकानुनी वा अवाञ्छित गतिविधि गर्नेलाई सरकारले नछाड्ने गृहमन्त्री अर्यालको चेतावनी छ । त्यस्ता गतिविधि नियन्त्रणमा मात्र सीमित नरही कडा कानुनी कारबाहीको दायरामा ल्याइने उनले स्पष्ट पारे ।

उनले भने, ‘त्यस्ता गतिविधि देखिए हामी नियन्त्रणमा मात्रै लिँदैनौँ, कानूनी कारबाही गर्छौँ । अनुसन्धान गर्छौँ, अभियोजन गर्छौँ र अदालतमा पनि पेश गर्छौँ । उनीहरू दण्डका भागिदार बन्नुपर्छ ।’

अन्तरिम सरकारले गराउन लागेको यो निर्वाचन विगतका निर्वाचनभन्दा अझ सुदृढ, स्वच्छ र धाँधलीरहित हुने दाबी गृहमन्त्री अर्यालले गरे ।

नागरिकलाई भयमुक्त वातावरणमा मतदान गर्ने अधिकार सरकारले सुनिश्चित गरेको उनले बताएका छन् ।

यस निर्वाचनलाई केवल प्रतिनिधि छान्ने र सरकार बनाउने प्रक्रियाका रूपमा मात्र नहेरी राजनीतिक सुशासन कायम गर्ने अवसरका रूपमा लिन उनले मतदातालाई आग्रह गरेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.