काठमाडौँ । पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरे ले हालै देखिएको अन्तर्राष्ट्रिय तनावका बीच पनि नेपालमा तत्काल पेट्रोलियम पदार्थको अभाव नहुने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले समग्र अवस्था हेर्दा आपूर्ति संकट नदेखिएको स्पष्ट पारे ।
घिमिरेले समय-समयमा विभिन्न कारणले नेपालमा इन्धन अभाव हुँदै आएकाले बाह्य मुलुकमा द्वन्द्व शुरू हुँदा स्वाभाविक रूपमा अभावको त्रास फैलने गरेको बताए ।
विगतका अनुभवका आधारमा सर्वसाधारणमा चिन्ता बढ्नु स्वाभाविक भए पनि अहिलेको अवस्थामा तत्काल पेट्रोलियम संकट आउने सम्भावना नरहेको उनको भनाइ छ ।
उनका अनुसार पश्चिम एसियामा जारी द्वन्द्वका कारण उत्पादन र आपूर्ति शृंखलामा केही प्रभाव परे पनि त्यसको असर नेपालमा तुरुन्तै नपुग्ने अवस्था छ ।
केही दिनअघि ग्यास अभावको हल्ला फैलिएपछि समग्र इन्धन नै अभाव हुने हो कि भन्ने त्रास बढेको उनले उल्लेख गरे ।
घिमिरेले अन्य इन्धनको तुलनामा ग्यासको आपूर्ति प्रणाली फरक रहेको बताए । नेपालमा ग्यास बुलेट भारतबाट मात्रै आउने र ढुवानी पनि भारतीय पक्षकै हुने भएकाले कहिलेकाहीँ समस्या देखिने गरेको उनले बताए ।
भारतीय आयातकर्ताले सुरक्षित र बढी नाफा हुने स्थानमा प्राथमिकता दिँदा नेपालमा अस्थायी समस्या देखिने गरेको उनको भनाइ छ ।
यद्यपि हाल बुलेट अभावको समस्या समाधान भइसकेकाले ग्यास आपूर्तिमा समस्या नहुने उनले दाबी गरे । जाडोयाम सकिँदै जाँदा खपत घट्ने भएकाले अभावको अवस्था नआउने उनको तर्क छ ।
उनले युद्धका कारण इन्धन अभावको त्रास फैलिँदा सामान्य अवस्थाभन्दा बढी खपत भएको स्वीकार गरे । तर अहिले स्थिति क्रमशः सामान्य बन्दै गएको उनले बताए ।
साथै, अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा हवाई इन्धनको खपत घटेको र देशभित्र भण्डारण पर्याप्त रहेकाले तत्काल संकटको अवस्था नरहेको घिमिरेले स्पष्ट पारे ।




