काठमाडौँ। फागुन २१ गते बिहीबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ। निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ।
मतदान गर्न जाँदा मतदाताले परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ । मतदाता नामावलीमा नाम भएका व्यक्तिले ६ किसिमका परिचयपत्रमध्ये कुनै एकका आधारमा मतदान गर्न सक्ने आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए ।
उनका अनुसार निर्वाचन आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्र भए सोही कागजात प्रयोग गर्नुपर्नेछ। उक्त परिचयपत्र नभए नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्रमध्ये कुनै एक कागजात लिएर मतदान गर्न सकिने व्यवस्था गरिएको उनले जानकारी दिए ।
उनले मतदातालाई निर्धारित समयमा आफ्नै मतदान केन्द्रमा पुगेर मतदान गर्न आग्रह गरे ।
आयोगका अनुसार मतदानमा सहभागी हुनुअघि आफ्नो मतदान केन्द्र सुनिश्चित गर्नुपर्नेछ । मतदान केन्द्रमा पुगेपछि महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको घिमिरेले बताए ।
मतदाताले सम्बन्धित लाइनमा बसेर पालोअनुसार मतदान गर्नुपर्नेछ। आयोगले शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैँले मतदान गर्न कठिनाइ हुने व्यक्तिका लागि विशेष व्यवस्था गरेको छ ।
यस्ता मतदातालाई लाइनमा बस्न नपर्ने गरी छुट्टै सहजीकरणको प्रबन्ध मिलाइएको उनले जानकारी दिए । उनीहरूले मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी वा स्वयंसेवकबाट आवश्यक सहयोग लिन सक्नेछन् ।
मतदान कार्यमा खटिएका कर्मचारीलाई पनि विशेष आवश्यकता भएका मतदातालाई सहज र सम्मानजनक वातावरणमा मतदान गराउन निर्देशन दिइएको घिमिरेले बताए ।
निर्वाचन आयोगले सबै मतदातालाई अनुशासित, मर्यादित र शान्तिपूर्ण रूपमा मतदान प्रक्रियामा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न आह्वान गरेको छ ।





