काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा आचारसंहिता अनुगमन अधिकृतहरूलाई थप निर्देशन जारी गर्दै विशेष आचरणको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ।
आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष नियमहरूलाई कडाइका साथ लागू गराउन आयोगले यस्तो कदम चालेको हो।
निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखहरूलाई फरक-फरक जिम्मेवारीसहित अनुगमन अधिकृत तोकिएको छ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ अनुसार मतदान हुने दिनको ४८ घण्टा अघिदेखि शुरू हुने प्रचारप्रसार निषेधको समयमा सबै पक्षले पालना गर्नुपर्ने आचरणको प्रभावकारी परिपालनाका लागि आयोगले विशेष ध्यान दिएको छ।
यस अवधिमा कुनै पनि प्रकारका चुनावी प्रचारप्रसार तथा मतदाता प्रभावित पार्ने गतिविधिहरू रोक्नका लागि आफ्नो जिल्लाभित्र सूक्ष्म अनुगमन गर्न आयोगले अधिकृतहरूलाई निर्देश गरेको छ।
मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको समयलाई अत्यन्तै संवेदनशील मान्दै आयोगले आचारसंहिताका व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनमा कुनै सम्झौता नगर्न स्पष्ट पारेको छ।
यदि निर्वाचन आचारसंहिता तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीतका कुनै पनि कार्य भएको पाइएमा सोही ऐनको अधीनमा रही जिल्ला आचारसंहिता अनुगमन समितिसँगको सहकार्यमा तत्काल कारबाही अगाडि बढाउन निर्देशन दिइएको छ।
आयोगले प्रचलित कानुन र आचारसंहिताबमोजिम प्रचारप्रसार निषेध अवधिमा गर्न नहुने भनी तोकिएका कार्यहरू नगर्न र नगराउन सम्पूर्ण राजनीतिक दल, उम्मेद्वार र सरोकारवालामा हार्दिक अनुरोध समेत गरेको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउन अनुगमन संयन्त्रलाई जिल्लाभर प्रभावकारी रूपमा परिचालन गर्न आयोगले जोड दिएको छ।




