रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीमा सोमबार कर्मचारीसहित निर्वाचनका सामग्री बोकेको गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
मृत्यु हुनेमा नेपाल प्रहरीका असई परशुराम यादव र वडा कार्यालय भवन रामेछाप नगरपालिका वडा नं ३ साँघुटार मतदान केन्द्र ख का मतदान अधिकृत डोरप्रसाद घिमिरे छन् ।
घिमिरे मन्थली नगरपालिका वडा नं ६ रुद्राक्षेश्वर मावि मुगिटारका निमावि द्वितीय शिक्षक हुन् ।
रामेछाप नगरपालिका वडा नं २ देउरालीको शीतलादेवी मावि र वडा नं ३ साँघुटारको वडा कार्यालय मतदान केन्द्रका कर्मचारी र निर्वाचन सामग्री लिएर गएको ना४ख ६७६८ नम्बर मिनीट्रक देउरालीके सिरुवारीमा ब्याक गर्ने क्रममा दुर्घटनामा परको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेलाई उद्धार नेपाली सेनको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ। घाइते हुनेमा दुई पुरुष र तीन महिला छन् ।




